Like us!
Follow us!

साप्ताहिक सेयर समिक्षा : नेप्सेको ऐतिहासिक साता

लगानी खबर, काठमाडौं - यस साता सेयर बजार सुखद रहेको छ किनकी सेयर बजारले पुन एतिहासिक रेकर्ड बनाउन सफल भएको छ । मंगलबार नेप्से सूचकले र बुधबार दैनिक कारोबार रकमले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेका हुन् । मंगलबार सेयर बजार २७९३ दशमलव ८९ विन्दुमा पुगी नयाँ रेकर्ड बनाएको थियो भने बुधबार हालसम्मकै उच्च अर्थात् ११ अर्ब ९५ करोडको कारोबार भएर कारोबार रकमले पनि रेकर्ड ब्रेक गरेको थियो ।

नेप्सेले फेरि नयाँ रेकर्ड बनाउन थालेपछि लगानीकर्ताहरू पनि उत्साहित छन् । यस साता ५ दिनको कारोबारमा एक दिन अर्थात् बुधबार मात्र बजार घटेको थियो भने बाँकी ४ दिन नेप्सेले उकालो यात्रा तय गरेको थियो । 

यस साता नेप्से परिसूचक एक सय २ दशमलव ८८ अंकले बढेर २७ सय ८७ दशमलव १८ विन्दुमा रोकिएको छ । गत साता नेप्से परिसूचक ४६ दशमलव ९९ अंकले बढेर २६ सय ८४ दशमलव ०१ विन्दुमा रोकिएको थियो ।

यस साता सेन्सेटिभ परिसूचक पनि १९ दशमलव ४८ अंकले बढेर ४ सय ९८ दशमलव ९७ विन्दुमा रोकिएको छ । गत साता सेन्सेटिभ परिसूचक ६ दशमलव ४२ अंकले बढेर ४ सय ७९ दशमलव ५० विन्दुमा रोकिएको थियो ।

कारोबार रकममा पनि उछाल आएको छ । नेप्से परिसूचकसँगसँगै कारोबार रकमले पनि यस साता नयाँ किर्तीमानी कायम गरेको छ । गत साता औषतमा ५ अर्ब ७२ करोडको मात्र कारोबार भएकोमा यो साता औषतमा १० अर्ब ४८ करोडको कारोबार भएको छ ।

बजार पुँजीकरणको कुरा गर्नुपर्दा एक साताभरमै लगानीकर्ताको सम्पत्ती १ खर्ब ४३ अर्बले बढेको छ । गत साता ३७ खर्ब २४ अर्ब रहेको बजार पुँजीकरण यो साता १ खर्ब ४३ अर्बले बढेर ३८ खर्ब ६७ अर्ब पुगेको छ ।

यो साता उत्पादनमूलक समूहबाहेक बाँकी सबै सूचिकृत समूहको सेयर बढेको छ । यो साता सबैभन्दा धेरै फाइनान्स समूहको सेयर बढेको छ ।

यस साताको सेयर बजारलाई समग्रमा नियाल्दा आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ५४ दशमलव २१ अंकले बढेको थियो । सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक २० दशमलव ७१ अंकले बढेको थियो । मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ३४ दशमलव ६८ अंकले बढेको थियो । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक १३ दशमलव ०९ अंकले घटेको थियो । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ६ दशमलव ३७ अंकले बढेर २७ सय ८७ दशमलव १८ विन्दुमा पुगी यस सातालाई बिदा गरेको छ ।

यस साता पनि सबैभन्दा धेरै नाफा कमाउनेको सूचीमा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ता अग्र स्थानमा छन् । समता लघुवित्त वित्तीय संस्था लिमिटेड र घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिने भएपछि १० महिनासम्म रोक्का रहेको कम्पनीको कारोबार खुलेसँगै लगातार बढिरहेको छ । संस्थाको सेयरमूल्य साताभरमा ६० दशमलव ८९ प्रतिशतले बढेको हो । त्यस पश्चात् धेरै कमाउने दोश्रो र तेश्रोमा क्रमश रुरु जलविद्युत परियोजना र नेपाल फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ता रहेका छन् ।

यस साता सबैभन्दा धेरै गुमाउनेमा बोटलर्स नेपाल तराईका लगानीकर्ता रहेका छन् । त्यस पश्चात् धेरै गुमाउने दोश्रो र तेश्रोमा क्रमश लिबर्टी इनर्जी कम्पनी लिमिटेड र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका लगानीकर्ता रहेका छन् ।

अन्य जानकारीका लागि तलकाे भिडियाे हेर्नुहाेस् :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।